29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

नेपालले माल्दिभ्ससँग बराबरी खेल्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६  

काठमाडौँ ।

तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लियो । खेलको १४औँ मिनेटमा माल्दिभ्सले गोल गर्दै शुरुआती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए । माल्दिम्सले खेलको पहिलो हाफसम्म एक शून्यले अग्रता लिएको थियो । तर खेलको दोस्रो हाफमा नेपालका मनिष डाँगीले बराबरी गोल फर्काए ।

मनिषले खेलको ७६औँ मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाए । उनले बृजेश चौधरीको पासलाई सदुपयोग गर्दैै गोल गरेका थिए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले एक अङ्क जोडेको छ । त्यस्तै माल्दिभ्सको पनि समान एक अङ्क नै भएको छ । अब दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भारत, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । – रासस

प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६     9:42:25 AM  |