20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

एमयूमा अब स्याउदेखि फापरसम्मको बिषयमा पढाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६  

सुर्खेत ।

अब विश्वविद्यालयमा कर्णाली प्रदेशमा उत्पादन हुने स्याउदेखि फापरसम्मको आधुनिक बिकास र उत्पादनमा गुणस्तरीयताका विषय पढाई हुने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले कर्णालीको माटोमा सुहाउँदो उत्पादन हुने कृषिवस्तुको अध्यापन गराउने लक्ष्यसहित अर्ग्यानिक कृषिको पाठ्यक्रम समाबेश गरी पढाई गर्ने भएको हो । उक्त पाठ्यक्रम लागू भएपछि कर्णालीका स्थानीय उत्पादनको चर्चा बजारदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म पुग्नेछ । विश्वविद्यालयले अर्ग्यानिक कृषिको पाठ्यक्रम बनाउन तयारी सुरु गरिसकेको जनाएको छ । विश्वविद्यालय अन्र्तगतको पाठ्यक्रम विकास केन्द्रका अनुसार स्नातक तहमा ४ वर्षे कोर्ष अन्र्तगतको पाठ्यक्रम बनाउन लागिएको हो ।

अहिले विज्ञ र सरोकारवालाहरूसँग पाठ्यक्रम निर्माणका विषयमा विश्वविद्यालयले छलफल चलाइराखेको छ । आगामी शैक्षिक सत्रबाट स्नातक तहको कृषि कार्यक्रम सञ्चालन गर्नेगरी पाठ्यक्रम निर्माणमा विश्वविद्यालय जुटेको छ । कर्णाली प्रदेश सरकारले पनि अर्ग्यानिक प्रदेश गराउने योजना अघि सारेकोमा प्रदेशको यो योजनालाई सघाउ पुग्ने र कर्णालीमा अर्ग्यानिक कृषि उद्यमी उत्पादन गर्ने विश्वविद्यालयले लक्ष्य राखेको छ । कर्णालीको हावापानी र माटो सुहाउँदो कृषि र यही ठाउँमा उत्पादन हुने कृषिजन्य वस्तुको आधुनिक विकास र उन्नती समेटेर नै पाठ्यक्रम तयार गर्ने विश्वविद्यालयले जनाएको छ । यसका लागि जर्मनबाट प्राध्यापक डा. पिटर वोनको नेतृत्वमा विशेषज्ञको टोलीलाई बोलाएर अध्ययन सुरु गरी पाठ्यक्रमको प्रारम्भिक रूपरेखा तयार पारिसकेकोे छ । प्रारम्भिक पाठ्यक्रमको ढाँचा तथा पाठ्यक्रममा आठ वटा सेमेष्टरमा कृषिसँग सम्बन्धित विभिन्न विषयवस्तुको सैद्धान्तिक तथा प्रयोगात्मक अध्ययनका विषयबस्तु राखिएका छन् । कर्णालीमा उत्पादन हुने स्याउ, सुन्तला, कोदो, फापर, अदुवा, बेसार, सिस्नो, कागुनो लगायत तरकारी तथा कृषिजन्य वस्तुसम्बन्धीका विषय प्रारिम्भक पाठ्यक्रममा समेटिएका छन् । यसका साथै पशुपालनलाई पनि पाठ्यक्रमभित्र राखिएको जनाइएको छ । कर्णालीमा घाँसे मैदान भएकाले व्यवसायीक पशुपालनतर्फ भेडा, बाख्रा, गाई भैसी, खरायो लगायत पशुलाई पनि पाठ्यक्रमको प्रारम्भिक ढाँचामा समेटिएको छ ।

विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका निर्देशक लिलाधर तिवारीले अबको एक वर्षमा पाठ्यक्रम तयार भइसक्ने जानकारी  बताए । कर्णाली प्रदेश सरकारले पनि कर्णालीलाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गर्न लागेकाले आफूहरूले यो विषयमा पाठ्यक्रम तयार गर्न लागेको उनले जानकारी दिए । ‘कर्णालीमा अर्ग्यानिक कृषिको सम्भावना रहेको छ । ढिलै भए पनि हामीले सुरुवात गर्दैछौं’ उनले भने, ‘विश्वविद्यालयले अर्ग्यानिक कृषि उद्यमी तयार गरेर प्रदेश सरकारको योजनामा सफल बनाउन सघाउँछ ।’ कर्णालीको अर्ग्यानिक वस्तु विश्वबजारसम्म निर्यात गर्नका लागि पनि अर्ग्यानिक कृषि उद्यमी उत्पादन गर्ने लक्ष्य सहित कार्यक्रम सञ्चालन गर्ने लागिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक तिवारीले दाबी गरे । जर्मनबाट आएका प्राध्यापक डा. पिटरले कर्णालीमा अर्ग्यानिक कृषिको सम्भावना भएकाले कार्यक्रम राम्रो हुने बताए । ‘कर्णालीमा अर्ग्यानिक कृषिको सम्भावना छ । अर्ग्यानिक कृषि आवश्यक पनि छ’ उनले भने, ‘चुनौतीहरू पनि उत्तिकै छन् । यो कार्यक्रमलाई सफल बनाउन विश्वविद्यालले दक्ष जनशक्ति ल्याउनुपर्छ ।’ विज्ञसहितको टोलीले सुर्खेतको चौकुने गाउँपालिका, दैलेखको गुराँस गाउँपालिका, जुम्लाको भेडा बाख्रा अनुसन्धान तथा बिकास केन्द्र र सुर्खेतको लेकवेशीमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क) मा स्थलगत अनुगमन गरेर त्यहाँका कृषक तथा जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँग राय सुझाव समेत लिइसकेको छ ।

व्यावसायिक शिक्षा तथा प्राविधिक शिक्षामा जोड दिने उद्देश्यले विश्वविद्यालयले पाठ्यक्रम निर्माण गर्न लागेको जनाएको छ । पाठ्यक्रमलाई अन्तिम रूप दिनका लागि थप गहिराइमा पुगेर चरणबद्ध छलफल गरिने र तत्पश्चात् कार्यशाला गोष्ठीका माध्यमबाट सरोकारवालाहरूको सुझावलाई समेत आत्मसात् गरी पाठ्यक्रमलाई विधिवत रूपमा स्वीकृतिको प्रक्रियामा लैजाने विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन विष्णुकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६     8:17:59 AM  |