20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अर्गानिक जिल्लामा वाईवाई चाउचाउको प्रचार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६  

शुभाकर विश्वकर्मा, जुम्ला ।

गत बिहीबारबाट जुम्लामा प्रादेशिक महोत्सव सञ्चालन भइरहेको छ । उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा दोस्रो पटक आयोजना भएको महोत्सवमा जुम्लाका अर्गानिक वस्तु, यहाँको धार्मिक तथा पर्यटकीय गन्तव्यलाई पुर्ण रुपमा ओझेलमा पारिएको छ । प्र्रादेशिक कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवको नाम दिईएपनि यहाँका साँस्कृतिक, पर्यटकीय तथा स्थानीय उत्पादन पुर्ण रुपमा ओझेलमा पारिएको हो । महोत्सव आयोजना स्थल, सम्पुर्ण व्यानर भरी वाईवाई लगायतका चाउचाउको मात्रै प्रचार गरिएको भन्दै जुम्लाबासीले व्यापक आलोचना गरेका छन् ।

महोत्सव शुरु भएदेखी नै जुम्लाका अर्गानिक तथा स्थानीय उत्पादनलाई प्राथमिकता नदिएको भन्दै जुम्लाबासीले गुनासो गरेका हुन् । एक मात्र अर्गानिक जिल्लाका रुपमा रहेको जुम्लामा चाउचाउको प्रचारप्रसार गर्नु राम्रो सन्देश नजाने भन्दै विभिन्न माध्यमबाट व्यापक विरोध भएको हो । महोत्सवको नाम अनुसार यहाँ कृषि, पर्यटन तथा साँस्कृतिक क्षेत्रको व्यापक रुपमा प्रचार हुनु पर्ने हो तर स्थानीय क्षेत्रका सम्भावनाहरु ओझेलमा परेको देखिन्छ । स्याउ, यहाँको जडिबुटी, रैथाने बाली, स्थानीय राखिपाखी र च्याउ लगायातका कुराहरु व्यानरका रुपमा अटाएका छैनन् ।

जताततै वाईवाई, पेटपुजा तथा गोलमोल चाउचाउका प्रचार मात्रै छन् । ‘अर्गानिक जिल्लाको बेईज्जत हुने तरिकाले वाईवाईको प्रचार भइरहेका छ’ बरम कामीले भने, ‘कम्तिमा यहाँको सम्भावनाको क्षेत्रको प्रचारलाई आयोजकले ध्यान दिनु पथ्र्यो’ तर आयोजकले निकै ठूलो भुल गरेको छ । युवा मिन बहादुर भण्डारीले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै कृषि पर्यटन तथा साँस्कृतिक महोसत्वको नाममा वाईवाईको प्रसार ओभनीय विषय भएको भन्दै व्याख्या गरेका छन् । उनले यस तर्फ प्रदेश सरकारको समेत उचित ध्यान जानु पर्ने पनि माग उठेको छ ।

उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री सहित दुई विभागीय मन्त्री उद्घाटन समारोहमा उपस्थित थिए । उक्त अवसरमा बोल्ने अधिकाश वक्ताले अर्गानिक जिल्लाको पहिचान जोगाई राख्नु पर्नेमा जोड दिएका थिए । ९० वटा भन्दा बढि स्टल राखिएको भएपनि त्यहाँ अर्गानिक वस्तुको स्टल नगन्य अवस्थामा रहेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन भन्दा पनि व्यापारिक रुपले महोत्सव संचालन गरेको स्पष्ट बुझ्न सकिन्छ । मुल आयोजक समितिका संयोजक रज्जव अलि मनिहार वाईवाई चाउचाउका अधिकृत विक्रेता हुन् । उनले आफ्नो व्यक्तिगत व्यापार प्रवद्र्धनको लागि महोसत्वलाई प्रयोग गरेको आरोप जुम्लाबासीले लगाएका छन् ।

विकेनन् स्थानीय उत्पादन

महोत्सवमा चन्दननाथ नगरपालिकाकी लक्ष्मी बुढ्थापाले आफैले उत्पादन गरेको च्याउ स्टलका राखेकी छन् । १० हजार रुपैयाँ तिरेर अर्गानिक च्याउको मःमको पसल राखेको भएपनि विक्रि हुनै मुस्किल भएको उनले बताईन् । ‘नजिकै चटपटे विक्रि हुन्छ, तर च्याउको मःम विक्रि हुदैन’ उनले भनिन्, ‘महोत्सवको शुरुवात देखी नै स्थानीय उत्पादनलाई प्रचारप्रसारमा प्राथमिकतामा नराखेका कारण यस्तो समस्या झेल्नु परेको हो ।’ यस्तै स्थानीय राडीपाखी स्टलको रुपमा राखेकी कुन्साङ पुटिक तामाङको पनि गुनासो उस्तै छ । रेडिमेट कपडा किन्नेको लर्को लाग्ने गरेको भन्दै उनले आयोजकले वाईवाई चाउचाउको प्रचार राम्रो नभएको बताईन् । उता उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटाले स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको दाबि गरे । महोत्सव भाद्र २९ गते सम्म संचालन हुने छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     8:39:41 AM  |