19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपालगञ्जमा अर्को छात्रा विद्यालय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६  

नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा छात्राहरू मात्र अध्ययन गर्ने अर्को विद्यालय यसै वर्षदेखि सञ्चालनमा ल्याइएको छ । छात्रछात्रा दुवै पढ्न पाउने सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा यसै वर्षदेखि छात्रा मात्र अध्ययन गर्न पाउने व्यवस्था गरिएको हो ।

नेपालगञ्जका अधिकांश मधेशी र मुस्लिम समुदाय छोरीलाई छात्रा विद्यालयमा मात्र पढाउन रुचि राख्ने भएकाले प्राथमिक तहको छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । नेपालगञ्जमै अर्को छात्राहरू मात्र अध्ययन गर्ने सरस्वती विद्यालय पनि सञ्चालनमा छ ।

विगतमा मधेशी समुदायको मात्र बसोबास रहेको यहाँका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । बिस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेकाले समुदायका अगुवाहरू मिलेर ७७ वर्षअघि सरस्वती विद्यालय सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६     9:43:39 AM  |