22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

प्रविधिको दु:खान्त: लक्ष्य स्वर्ग, गन्तव्य नर्क

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६  

प्रसंग १

सन् २०११। चीनको सिन्जियाङ उइगर स्वशासित क्षेत्र। थ्रीजी मोबाइल डाटा नेटवर्क भर्खर पुगेको छ। एकाध वर्षमा झन्डै सबै वयस्क उइगरका हातमा स्मार्ट फोन पुग्छ। जनजीवन एकाएक निकै सहज बन्न पुग्छ र उइगरले सशक्तीकरणको महसुस गर्छन्। सरकारी सञ्चारमाध्यममा खाली केन्द्रबाट लादिएका सामाग्रीमात्र ग्रहण गर्ने गरेका उइगरबीच अभूतपूर्व रूपमा सूचनाको तेर्सो (हरिजोन्टल) प्रवाह सम्भव हुन्छ। चीनका सजातीय उइगरमात्रै नभई टर्की, कजाकस्तान र किर्गिजिस्तानका ‘टर्किक’ मुसलमान समाज एउटै अनलाइन समुदायमा जोडिन्छन्। अब्लाजान आयुपजस्ता उइगर कलाकार रातारात स्टार बन्छन्।

माओको सांस्कृतिक क्रान्ति यता चर्को सांस्कृतिक दमनमा परेका चिनियाँ उइगरमा सांस्कृतिक र धार्मिक पुनर्जागरण आउँछ। धार्मिक अपनत्वको भावना विकसित भएसँगै मानिसमा धार्मिक पोशाक लगाउने र नियमित मस्जिद जाने बानी बस्छ। हातमा रहेको इन्टरनेटजडित मोबाइल राज्यको निसास लाग्दो नियन्त्रण खुकुलो बनाउन प्रभावकारी हुन्छ।

छ वर्षपछि सन् २०१७। अलिम नामक उइगर युवा विदेश पढेर फर्कंदैछन्। जहाजबाट ओर्लेर चीनमा टेक्नासाथ पुलिसले उनलाई पक्रन्छ। विदेश यात्राका कारण उनी ‘असुरक्षित’ व्यक्तिको आशंकामा छन्। पुलिसले उनको ‘स्वास्थ्य जाँच’ गर्छ। त्यसअन्तर्गत उनको डिएनए, रक्त समुह, औंठाछाप, आवाजको रेकर्ड र अनुहारको स्क्यान पर्छ।

‘जनताको आतंकवादविरोधी युद्ध’ (पिपुल्स वार अन टेरर) अन्तर्गत उइगर समुदायका लागि खोलेका सयौं बन्दीगृहहरूमध्ये एकमा पुर्‍याइन्छ। चीनले यस्ता क्याम्पलाई ‘पुनर्शिक्षा क्याम्प’ नाम दिएको छ।

त्यहाँ उनलाई निद्रा र खानाबाट वञ्चित गर्दै घन्टौं पुछताछ गरिन्छ, तर्साइन्छ। उनी त्यो प्रक्रियामा यति गल्छन् कि विक्षिप्त भएर एकोहोरो हाँस्न थाल्छन्। कुनै आफन्तको जमानतमा उनलाई दुई सातापछि त्यहाँबाट रिहा गरिन्छ।

त्यसको केही सातापछि नजिकैको मलमा खाना खान जाँदै गर्दा उनको सरकारी परिचयपत्र स्क्यान हुन्छ र उनी अनुहार पहिचान गर्ने सफ्टवेयरबाट गुज्रन्छन्। अलार्म बज्छ र उनी पक्राउ पर्छन्।

उनी त्यहाँ चीनले प्रयोग गर्ने गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित डाटा प्रणाली ‘आइजप’ (इन्टिग्रेटेड जोइन्ट अपरेसन्स प्लाटफर्म)को कालो सूचीमा परिसकेका हुन्छन्।

पक्राउ परेपछि प्रहरीले उनलाई भन्छ- पक्राउ नपर्ने मन भए घरै बस्नू, कुनै सार्वजनिक स्थलमा नजानू।

त्यो बेलासम्ममा कुनै बेलाका उइगर पप स्टार अब्लाजानलाई राज्यले बेपत्ता पारिसकेको थियो। झण्डै एक करोडभन्दा बढी उइगरमध्ये धेरैजसो आज एआईमा आधारित राज्यको निगरानीमा छन्।

प्रसंग २

तानाशाहहरूले फलामे हातले शासन गर्ने भनिएको मध्यपूर्वमा सन् २०११ मा विद्रोहको लहर सुरू भयो। ट्युनिसिया र इजिप्टमा फेसबुक र ट्वीटरका मद्दतले विशाल प्रदर्शन र क्रान्ति सम्भव भए। तिनका बलमा तानाशाह ढाले।

सिरिया गृहयुद्धको लपेटामा पर्‍यो। लिबियामा विद्रोहको पक्षमा पश्चिमा देशहरूले सैन्य हस्तक्षेप गरेपछि गद्दाफीको शासन त ढल्यो। तर नयाँ व्यवस्था जन्मनै नपाई हिंसात्मक अराजकता सुरू भयो। जुन अहिले पनि कायम छ।

विद्रोह नभए पनि साउदी अरेबियालगायत अधिनायकवादी शासन भएका देशमा सामाजिक सञ्जाल निर्देशित जागरण र आममानिसको सशक्तीकारण आयो। २०११ मेमा साउदी अभियन्ता मनल अल शरिफलाई मध्यरातमा गुप्तचर प्रहरीले अपहरण गरेर लग्यो। ओमार अल्जोहनीले त्यो थाहा पाए, ट्वीटरबाट त्यसको प्रत्यक्ष प्रसारण गरे। अपहरण गोप्य नरहेपछि उनको ज्यान बच्यो।

त्यसको चार वर्षपछि सन् २०१५मा तेलको मुल्य निरन्तर घटेपछि बजेट सन्तुलन गर्न साउदी अरेबिया बाध्य भयो। नागरिकलाई राज्यले दिइआएका छेलोखेलो सुविधा कटौतीमा परे। सामाजिक सञ्जालमा त्यसको विरोध भयो। शासकहरू आलोचनामा परे। म्याक्किन्से एन्ड को नामक कन्सल्टेन्सीले त्यस विषयमा जनमतको अध्ययन गरेर राज्यप्रति नकारात्मक भाव फैलाउने नागरिकमध्ये तीन प्रमुख ट्वीटर प्रयोगकर्ताको नाम किटेर गोप्य रिपोर्ट बनायो। द न्युयोर्क टाइम्सको एउटा रिपोर्टअनुसार ती तीनमध्ये एक जना पक्राउ परे, दोस्रोको फोन ह्याक गरियो र उनका दुई भाइलाई पक्राउ गरियो। तेस्रो व्यक्तिको ट्वीटर अकाउन्ट बन्द गरियो। न्युयोर्क टाइम्सकै अर्को समाचारअनुसार अलि अलजबरा नामक व्यक्तिमार्फत साउदी गुप्तचरहरूले ट्वीटरमै घुसपैठ गरेर राज्यका आलोचकका ट्वीटर खाता धमाधम बन्द गरिदिए। अमेरिकामा बस्दै आएका वासिङ्टन पोस्टका साउदी मूलका पत्रकार तथा साउदी राजकुमारका आलोचक जमाल खसोग्जीलाई टर्कीस्थित साउदी कन्सुलेटमा २०१८ अक्टोबरमा निर्मम तरिकाले मार्नुअगाडि ट्वीटरमा उनको निरन्तर चरित्र हत्या गरियो। उनको हत्याको विरोधमा संसारभर जमाल खसोग्जी ट्रेन्ड भइरहेको थियो। त्यहीबेला साउदीमा ‘ट्रोल फार्म’हरूले ट्वीटरमा ‘कमिला र साङ्लाको अपहरण’ र ‘आत्माको सुन्दरता नै सुन्दरता हो’ जस्ता हरफ ट्रेन्डङ गराइरहेका थिए।

ट्वीटरलगायतका समाजिक सञ्जालमार्फत आफ्ना स्वतन्त्र विचार सार्वजनिक गर्नेमाथि राज्यले दबाब बढायो। सन् २०११ मा ट्वीटरले आफ्नो ज्यान बचाएको मान्ने साउदी अभियन्ता मनल अल शरिफले २०१८ मा आएर आफ्ना झन्डै तीन लाख फलोअर्स भएको ट्वीटर खाता हजार जना दर्शकका अगाडिको मञ्चमा बसेर डिलिट गरिन्।

राज्य दमनका कारण अभियन्ताहरूका कैंयन ट्वीटर खाता डिलिट गरियो। त्यपछि उनीहरूले विगतमा गरेका ट्वीटका आधारमा धरपकड र यातना दिने काम सामान्य बन्यो।

प्रसंग ३

जमाल खसोग्जीलाई मारेर उनको शरीरलाई बर्बरतापूर्वक खण्डित गरेर गायब पारिनुभन्दा केही महिना अगाडिको कुरा हो। क्यानाडास्थित उनका साथी ओमार अब्दुल अजिजले जुन महिनामा आफ्नो आइफोनमा कुनै स्वभाविक पार्सल पाउन क्लिक गर्नुपर्नेजस्तो लिंकसहितको एउटा एसएमएस पाए र क्लिक गरे। उनले पछि अदालतमा हालेको मुद्दाका कागजातअनुसार त्यो लिंक क्लिक हुनासाथ एनएसओ नामक एक इजरायली कम्पनीको जासुसीका लागि बनाएको पेगासस नामक ‘स्पाइवेयर’ उनको फोनमा जडित भयो। त्यो सफ्टवेयरले गोप्य रूपमा फोनबाट गरिएका कल सुन्ने र रेकर्ड गर्ने, मेसेज पढ्ने, (आइमेसेज, जिमेल, भाइबर, फेसबुक, ह्वाट्सएप, टेलिग्राम र स्काइपमार्फत्) दबाइएका ‘किस्ट्रोक’समेत रेकर्ड गर्ने, फोनको पूरा इन्टरनेट गतिविधि पत्ता लगाउनेजस्ता काम गर्थ्यो। त्यसको मद्दतले साउदी सरकारले क्यानाडामा बस्ने अब्दुलअजीज र अमेरिकामा बस्ने खसोग्जीबीच भएका सबै सम्पर्कको पूरै रेकर्ड पायो। अन्ततः खसोग्जीका सबै कदम र मनोस्थितिसमेत थाहा पाएका साउदी शासकले उनलाई लोभ्याएर टर्कीस्थित कन्सुलेटसम्म बोलाएर उनको हत्या गरे।

फोर्ब्स पत्रिकाको एउटा रिपोर्टअनुसार एनएसओको त्यस्तो सफ्टवेयरको शिकार हुनेमा मेक्सिकन मानव अधिकारवादी रफायल क्याब्रेरा र युएइ सरकारका आलोचक–अभियन्ता अहमद मन्सुर छन्। दुबै जनामाथि जासुसी गर्न आफ्नै सरकारले त्यो प्रविधि उपयोग गरेका छन्। उक्त कम्पनीले रजिष्ट्रर गरेका डोमेनका आधारमा उक्त प्रविधि टर्की, इजरायल, थाइल्याण्ड, कतार, केन्या, उज्बेकिस्तान, मोजाम्बिक, मोरक्को, यमन, हंगेरी, साउदी अरेबिया, नाइजेरिया र बहराइनमा उपयोग भएको हुन सक्ने फोर्ब्सले उल्लेख गरिएको छ।

यी तीनै प्रकरणले देखाउँछन् धेरै विश्लेषकहरूले चेतावनी दिने गरेको ‘टेक-डिस्टोपिया’ अब भविष्य वा अनुमानको कुरा रहेन।

अभूतपूर्व खुलापन र भुइँ तहको लोकतान्त्रिकरणको ढोका खोल्ने भनेर कुनै बेला स्वागत गरिएको इन्टरनेट युग विश्वव्यापी प्रयोगको केही दशक पनि नबित्दै ठीक विपरीत भूमिकामा खडा भएको छ। हिजो आममानिसहरूले स्वतन्त्रता र मुक्तितर्फको यात्राका साधन ठानेका प्रविधिका हतियारहरूमा अहिले तीव्र रफ्तारमा अरु कोही सवार छ।

को-को सवार छन् त्यसमा ?

पहिलो, अनुदार र अधिनायकवादी सरकारहरू, तिनका अनुत्तरदायी सैन्य र जासुसी संगठनहरू। दोस्रो, तिनका पक्षमा विरोधीका आवाज दबाउन र कृत्रिम उभारहरू सिर्जना गर्न चौबीसै घन्टा खटिने ‘ट्रोल फार्म’हरू। तेस्रो, अनलाइनमा आउने सबै खालका मानिसबारे सूचना जम्मा पारेर विज्ञापनकर्तालाई बेच्दै अकुत धन कमाउने होडमा रहेका कम्पनीहरू।

अघिल्लो वर्ष फेसबुक कम्पनीलाई नै थर्कमान पार्ने गरी सार्वजनिक भएको थियो क्याम्ब्रिज एनालिटिका प्रकरण। क्याम्ब्रिज एनालिटिका नामक कम्पनीले करोडौं फेसबुक प्रयोगकर्ताका खाताबाट अनधिकृत रूपमा व्यक्तिगत सुचनाहरु लियो। ति सुचना राजनीतिक हथकण्डाका लागि प्रयोग गर्नका राजनीतिक पार्टीलाई बेचेको थियो।

यस्तो टेक–डिस्टोपियाको वर्तमान हो भने हाल एआईको मद्दतले चीनले निर्माण गरिरहेको भीमकाय मानव–नियन्त्रण परियोजना त्यसको भविष्य हो।

यस्तो अवस्थालाई दुरूस्त शब्दमा उतार्दै सन् २००३ मा अमेरिकी–क्यानेडियन आख्यानकार विलियम जिब्सनले भनेका थिए, ‘भविष्य आइसकेको छ, खाली सबैतिर बराबर वितरण भइसकेको छैन।’

माथि उल्लिखित उदाहरणहरूमा चीन र साउदी अरेबियाजस्ता देशको नाम बारम्बार आएको छ किनभने त्यहाँ टेक-डिस्टोपियाका रूपमा कल्पित भविष्य अहिले नै आइसकेको छ। त्यसको प्रभाव निरन्तर गहिरिनेछ।

बाँकी समाजमध्ये फेसबुकको माध्यमबाट संगठित हिंसा गराइएका देशमा म्यानमार र लिबियाजस्ता द्वन्द्वग्रस्त देशमात्रै छैनन्। जर्मनी, भारत र फिलिपिन्सजस्ता शान्तिपूर्ण मानिएका देशसमेत छन्। म्यानमारमा त रोहिंज्या अल्पसंख्यकविरूद्ध सेनाले चलाएको आमसंहारमा रोहिंज्याविरुद्ध घृणा फैलाउने सबैभन्दा सशक्त माध्यम नै फेसबुक थियो। यसबारे निरन्तर समाचार आइरहँदा पनि त्यस्ता गतिविधि नियन्त्रणमा फेसबुकले रूची देखाएन। फेसबुकलाई नै मानव अधिकार हननका लागि अदालतमा पुर्‍याउनु पर्ने अवस्था आएको जिकिर गर्दै अमेरिकाको द एटलान्टिक पत्रिकामा एउटा आलेख नै छापिएको थियो।

चीनले एआईमार्फत् नागरिकका सूचना लिने प्रक्रिया उइगरका हकमा मात्र सीमित गरेको भने होइन। चिनियाँ राज्यले यसलाई देशैभरि फैलाउँदैछ। यस विषयमा खास दखल राख्ने टेकनोड नामक वेबसाइटका अनुसार चीनमा अहिले १७.६ करोड जासुसी क्यामेरा लगाइएका छन्। अहिलेको वृद्धिदरका हिसाबले २०२० सम्ममा त्यो संख्या ६२.६ करोड पुग्ने देखिन्छ अर्थात् झन्डै दुई चिनियाँ बराबर एक सर्भेलियन्स क्यामेरा। राजधानी बेइजिङको त प्रत्येक कुनामा त्यस्तो क्यामेरा राखेर शतप्रतिशत कभरेज पुर्‍याइएको भनेर चाइना डेलीले सगर्व समाचार लेखेको छ।

हाल स्वेच्छिक रहेको र २०२० देखि अनिवार्य गराउन लागिएको ‘सोसल क्रेडिट सिस्टम’ अनुसार व्यक्तिका झन्डै सबैजसो दैनिक विवरण समेटिने निजी कम्पनी र सरकारी अड्डासँग सम्बन्धित गतिविधिका आधारमा हरेक व्यक्तिले एउटा ‘सिटिजन स्कोर’ पाउनेछ।

त्यसपछि कसैले पनि स्वतः कर्तव्यनिष्ठ र वफादार चिनियाँको मान्यता पाउने छैन, पार्टीले असल भनेर परिभाषित गरेको व्यवहार निरन्तर देखाइराखेर ती गुण कमाइरहनु पर्नेछ। स्कोर कमजोर हुनेहरू स्वतः एआईनियन्त्रित राज्यको भीमकाय निगरानी मेसिनको सर्वशक्तिमान् आँखामा पर्नेछन्। अहिले नै उइगरमा परीक्षण भइरहेको आइजप प्रणालीले मानिसका विभिन्न गतिविधिको निगरानी गर्छ। त्यसैअनुसार वर्गीकरण गर्छ। उदाहरणका लागि, छिमेकीसित कम घुलमिल गर्ने र अगाडिको ढोका कमै प्रयोग गर्ने, लामो समयपछि अचानक गृहनगर फर्केको, मस्जिदका लागि ‘उत्साहपूर्वक’ पैसा र सामान बटुलेको, घरमा असामान्य मात्रामा बिजुली उपयोग गरेको’। मेसिनले संकलन गर्ने यस्ता सूचना र झन्डै एक लाख प्रहरी लगाएर सिन्जियाङभर उइगरको प्रत्यक्ष अन्तर्वार्तामार्फत् संकलित सूचनाको योगबाट चिनियाँ राज्यले उइगरको गोपनीयतामा कडा निगरानी गरिरहेको छ। उनीहरूमध्ये ‘सुरक्षित’ र ‘औसत’ ठहरिएकाहरू घरमै राज्यको कडा निगरानीमा छन् भने ‘असुरक्षित’ ठानिएकाहरू नारकीय बन्दीगृह (पुनर्शिक्षा केन्द्र) मा छन्।

२०२० पछि बिस्तारै चीनभर यति कठोर नभए यस्तै प्रकृतिको निगरानी र दण्ड प्रणाली स्थापित हुनेमा विश्लेषकहरू एकमतजस्तै छन्। आखिर चिनियाँ कम्युनिष्ट पार्टीको २०१४ को बृहत योजनाको लक्ष्य नै ‘(सरकार र पार्टीमा) विश्वास कायम गर्नु र भत्कनबाट अवरोध गर्नु’ थियो।

अब एउटा प्रश्न उठ्छ- चीन वा साउदी अरबजस्ता मुलुकमा विकसित समस्याको उत्कर्ष हेरेर लोकतान्त्रिक देशमा बस्ने हामी नागरिक किन डराउने? यसका अनेक कारण छन्।

एक, चीनको आर्थिक र सामरिक शक्ति बढ्दै गएसँगै उसको ‘सफ्ट पावर’ तीव्र गतिमा बढ्दो छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाको अंग्रेजीभाषी ट्वीटर खाताका फलोअर्सको संख्यामात्र एक करोडमाथि छ जबकी ट्वीटर चीनमा प्रतिबन्धित छ। कुनैबेला पश्चिमा मुलुकले चिनियाँ विद्यार्थीलाई अध्ययनका लागि आकर्षित गरेर चीनमा खुलापन र लोकतान्त्रिकरण फैलाउने सपना देख्थे भने अहिले ठूलो संख्यामा चिनियाँ विद्यार्थी पढ्ने पश्चिमका विश्वविद्यालयमा चिनियाँ मूल्य–मान्यताले जरा हालेकोमा उनीहरू चिन्तित छन्।

दुई, विश्वव्यापी रूपमा अहिले जेले प्रविधि विकासको इन्जिनको काम गरिरहेको छ, त्यो हो ‘सर्भेइलेन्स क्यापिटलिजम्’ अर्थात् निगरानी पुँजीवाद। करोडौं वा अरबौं मानिसहरूको निजी सूचना जम्मा पार, त्यसमा चलखेल र वर्गीकरण गर, त्यसका आधारमा विज्ञापनदातालाई सूचना बेच वा आफैं मानिसलाई वस्तु वा सेवा बेच अनि धनी बन। मानिसको निजी सूचना र किनमेलसम्बन्धी व्यवहार अब हिजोको पेट्रोलियम, सुन र हीराभन्दा पनि मूल्यवान् बनेको छ। अहिले संसारका सबैभन्दा धनी पाँच कम्पनीमध्ये तीन (अमाजन, अल्फाबेट र फेसबुक)को व्यापार मोडल निगरानी पुँजीवाद हो भने सबैभन्दा धनी पेट्रोलियम कम्पनी एक्सोनमोबिल उक्त सूचीको दशौं नम्बरमा मात्र छ।

स्वचालित सवारी साधन र श्रमको अभूतपूर्व यान्त्रिकीकरणको आधार मानिएको फाइभजी इन्टरनेटको आसन्न विश्वव्यापी फैलावटसँगै प्रविधि कम्पनी आफ्ना लागि चुस्त एआई विकसित गर्न युद्धस्तरमा खटिइसकेका छन्। जसले धेरैभन्दा धेरै मानिसहरूको सूचना संकलन गर्न सक्छ, यो होड उसैले जित्छ।

‘द एज अफ सर्भेइलेन्स क्यापिटलिजम’की लेखक शोशाना जुबोफका अनुसार त्यो बिजनेस मोडल र होड अब सामाजिक सञ्जाल वा केही अरू कम्पनीमा सीमित छैन। यो बीमा, खुद्रा व्यापार, स्वास्थ्य, फाइनान्स, मनोरञ्जन, शिक्षा, यातायातलगायत अर्थतन्त्रका सिंगै हिस्साहरूमा फैलिइसकेको छ। त्यसैले प्रविधि क्षेत्रले अँगाल्ने खास प्रवृत्तिहरूको प्रभावबाट हामीलगायत कोही पनि अछुतो छैन।

चीनमा एउटा उइगरले सामना गरेको निगरानी र नेपालको फेसबुक वा गुगल प्रयोगकर्ताले सामना गर्ने निगरानीमा पक्कै ठूलो मात्रात्मक अन्तर छ तर त्यो प्रक्रियाको चरित्र एउटै छ। त्यसैले यस्तो प्रवृत्ति चिन्ने र आफ्नो गोपनीयता र स्वतन्त्रता बचाउन लागी पर्ने जिम्मेवारी हामीजस्ता मानिसको हुन्छ।

तीन, प्रविधिको विकास, व्याप्तता र विकेन्द्रीकरणका कारण हिजोसम्म खास महाशक्तिको पहुँचमा मात्र रहने मानिएका साइबर-हतियार अब साना र गरीब देशका शासक र मध्यम आर्थिक क्षमताका कम्पनीका लागि समेत उपलब्ध हुने भएका छन्। माथि उल्लिखित एनएसओ कम्पनीको पेगाससजस्ता सफ्टवेयर वर्षौंको मेहनतले बनेपछि रातारात फैलिन सक्छन्। यस्ता सफ्टवेयर छोटो समयमा झनै विकसित, प्रभावकारी र सस्तो बन्दै जान्छन्। फेक न्युज र प्रोपागाण्डा सामाग्रीको प्रभाव अहिले विश्वभर आकाशिँदो छ। साउदी अरेबियाले जमाल खसोग्जीलाई मार्नु अगाडिझैं मानिसमाथि निगरानी गर्ने, उसविरूद्ध ‘ट्रोल फार्म’ले फैलाउने, फेक न्युजमार्फत् चरित्र हत्याजस्ता विधि तानाशाही शासकले अपनाउन सक्काछन्।

राजनीतिक व्यवस्थाको लोकतान्त्रिक चरित्रमा खिया लागेर राजनीतिज्ञहरूले शक्ति कायम राख्ने चोर बाटो खोज्नासाथ संसारको कुनै पनि देशमा सत्ताका आलोचक वा विरोधी असुरक्षित बन्दै जाने निश्चित छ। प्रविधिको विकाससँगै त्यो असुरक्षा बढ्दो छ।

अन्तमा, जसरी विगतका महाशक्ति बेलायत र अमेरिकाले बाँकी विश्वलाई आफ्नो स्वार्थअनुसार ढालेका थिए, ढिलोचाँडो उदाउँदो चीनले पनि त्यो कामलाई पक्कै तीव्रता दिनेछ। ऐतिहासिक सन्दर्भमा त्यो कुनै नौलो काम हुने छैन।

तर विगतका त्यस्ता अनुभवभन्दा अहिलेको हाम्रो अवस्था दुई कारणले फरक छ।

मानिसलाई फिरन्ते युगबाट कृषि युगमा प्रवेश गर्न हजारौं वर्षको संक्रमणकाल उपलब्ध थियो, कृषि युगबाट औद्योगिक युगको संक्रमणले शताब्दीयौं लिएको थियो। अहिले चलिरहेको औद्योगिक युगबाट सूचना युगतिरको संक्रमण केही दशकभन्दा लामो छैन। नयाँ युगका फरक चुनौतीबारे बुझ्दानबुझ्दै हामी तिनको परिणाम भोग्न बाध्य छौं। जसरी सामाजिक सञ्जालको महत्व बुझ्दानबुझ्दै उइगरहरू राज्यको क्रुर निगरानीको पासोमा नराम्ररी बल्झिसकेका छन्।

उसो भए गर्ने के त?

आँखा खोल्ने, हेर्ने, बुझ्ने। हरेक लडाइँको तयारी अर्को पक्षबारेको सूचनाबाट सुरू हुन्छ। सूचना क्रान्तिका जति पनि डरलाग्दा पाटा छन्, तिनीहरूसँग भिड्नुअगाडि तिनबारे सुसूचित हुनु अनिवार्य छ।

प्रविधिसिर्जित भीमकाय सूचना-अर्थतन्त्रको एउटा पुर्जा बनेर त्यसको लहरले जता हुत्याउँछ उतै हुत्तिंदै जाने हो भने बिस्तारै प्रविधिमाथि हाम्रो बचेखुचेको नियन्त्रण पनि समाप्त हुनेछ। त्यसको बदला प्रविधिका प्रभावलाई आलोचना–चेतसहित हेर्ने, प्रविधिलाई आफ्नो आवश्यकताअनुसार मात्रै प्रयोग गर्ने। त्यसप्रति आशक्त वा अन्धो उपभोक्ता नबन्ने र त्यसका दुष्प्रभावलाई बेलैमा चिनेर तीविरूद्ध लड्ने। त्यसले दैनिक जीवनमा उपयोग हुने प्रविधिमाथि हाम्रो पकड बलियो बनाउँदै लैजानेछ।

जबसम्म हामी सामाजिक सञ्जालमा निरन्तर आउने सनसनीपूर्ण, प्रायोजित वा सफेद झुठ सामग्रीमा डुबेर आफूलाई अरू कसैको भीमकाय एआई मेसिनको कच्चापदार्थ बनाइरहन्छौं, हामी आफैं फसेको खाडललाई झन् गहिरो बनाइरहेका हुनेछौं। हामीले बेलैमा यसबारे सोच्नुपर्छ। निजी तबरमा, दैनिक रूपमा सचेत हुनुपर्छ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६     12:12:14 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *