25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

‘यातनाको कुरा तथ्यहीन’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६  

सुर्खेत ।

आफूलाई भ्रष्टाचारविरुद्धको अभियान्ता भनेर चिनाउने ज्ञानेन्द्र शाही प्रकरणका विषयमा कपोकल्पित र भ्रामक समाचारहरु सार्वजनिक भएकोप्रति प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाहीलाई हिरासतमै नराखिएको प्रहरीले स्पष्ट पारेको छ । अहिले सामाजिक सञ्जालमा फैलाइएका अपवाहहरु तथ्यहीन, भ्रामक, निराधार, अवास्तविक र कपोकल्पित भएको प्रहरीले टिप्पणी गरेको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक महेश विक्रम शाहले एकपक्षीय कुरा सुनेर सामाजिक सञ्जालमा आइरहेका नकरात्मक टिप्पणीको खण्डन गरेका छन् ।

पत्रकारहरुको आत्मसम्मानमा आँच आउने अभिव्यक्ति दिएको, अश्लील गाली गलौज गरेकोले उनलाई साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ गरिएको शाहको भनाई छ । अहिले जताततै भ्रष्ट्रचारविरुद्ध बोलेकोले प्रहरीले उनलाई पक्राउ र्गयो र यातना दियो भन्ने कुरा प्रचारबाजी गरिएको छ, जो निराधार र गलत भएको डिआइजी शाहले प्रस्ट पारे । शाहले भने, ‘शाहीलाई कुनै यातना दिइएको छैन, उनलाई पक्राउ गरेर हिरासत कक्षमा समेत राखिएको छैन,’ डिआइजी शाहले भने ‘ज्ञानेन्द्रलाई प्रहरी निरीक्षक कक्षमा अरू तीनजना सँगै राखीएको छ, हामीसँग सिसीटिभी फुटेज लगायतका प्रमाणहरु छन्, हामीले विनाप्रमाण बोलेका छैनौं ।’

गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गाली गलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए । शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले वैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो। ‘सम्मानित अदालतले पक्राउ पुर्जी जारी गरेपश्चात् शाहीको खोजतलास गरिरहेका थियौं’ शाहले भने, ‘खुल्लामञ्चमा उनले गरेको कार्यक्रम सम्पन्न भएपछि पक्राउ गरिएको हो।’ उनलाई पक्राउ गर्न जेठ १५ गते खुलामञ्चमा पहिले सादा पोसाकमा प्रहरी पठाइएको डिआइजी शाहले बताए ।

कार्यक्रम सकेपछि उनलाई पक्राउ पुर्जी दिएर पक्राउ गर्न खोज्दा उनले अस्वीकार गरेको र उल्टै प्रहरीमाथि जाईलागेकोले भएको झडपमा केही प्रहरी र शाहीलगायत घाइते भएका हुन् । प्रहरी निरीक्षक नीरन्जन धिमिरेको कमाण्डमा गएको टोलीले उनलाई सोधपुछका लागि लिन खोज्दा उनका समर्थकहरुले ढुंगामुढा प्रहार गरेको र प्रहरीमाथि नै जाइलागे पछि झडप भएको उनको भनाइ छ ।

सोही सोही झडपका क्रममा उनलाई चोटपटक लागेको र ६ जना प्रहरी पनि घाईते भएको डिआइजी शाहको भनाइ छ । ‘प्रहरी कार्यालयमा लिएपछि उनलाई कुनै यातना दिइएको छैन, केही क्षणमै उनलाई प्रदेश अस्पतालमा लिएर स्वास्थ परीक्षणसमेत गराइएको छ’ शाहले भने ।

प्रदेश अस्पतालमा गरिएको स्वास्थ परीक्षण रिर्पोटमा उनको दायाँ हातको नाडीमा रातो डाम, टाउकोमा चोट, बायाँ खुट्टाको कान्छी औँलामा चोट, छातीमा रातो डाम, घुडामा रातो डाम देखिएको त्यो सबै उनलाई पक्रन खोज्दा उनकै सर्मथकहरुले हानेको ढुंगा मुढा लागेको प्रहरीले जनाएको छ । डिआइजी शाहले ज्ञानेन्द्र शाहीलाई पक्रने क्रममा ढुगांमुढा गर्ने उनका अन्य ६ जना समर्थक पक्राउ परेकोसमेत जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६     9:28:25 AM  |