20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

परम्परागत कोल लोप हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५  

बाजुरा/  प्रविधिको विकास क्रमसँगै बाजुरामा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् । पछिल्लो समयमा मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको बडिमालीका–२ का स्थानीय हर्क महतले बताउनुभयो ।

तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुँदै जानु तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएका हुन् । जिल्लामा सयौँको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ । कोलमा तेल पेल्नका लागी बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको स्थानीय औला कार्कीले बताउनुभयो ।
करीब एक दशक अगाडि जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोलको अहिले अस्तित्वसमेत देखिन मुस्किल भएको छ । आधुनिक मेशिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग र संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ । -रासस
प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५     7:32:29 PM  |