19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

तारा तालको अस्तित्व संकटमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

१८ असोज, कञ्चनपुर/ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल (खैकन्द्रा) को अस्तित्व संकटमा परेको छ । तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व खतरामा परेको हो ।  राजहंस कमलको फूलका लागि प्रख्यात ताल लोप हुने अवस्थामा पुगे पनि संरक्षणको प्रयास हुन सकेको छैन । ताल पुरिने क्रमसँगै मुख्य आकर्षणका रूपमा रहेको कमलसमेत लोप हुन लागेको ताल नजिकैको क्षेत्रमा बस्दै आएका नरिभान ढुंगेलले बताए ।

“ताल सुकेपछि कमलको जरा नै उखेलेर जंगली बँदेलले खाने गरेकाले कमल लोपोन्मुख अवस्थामा पुगेको छ”, उनले भने । भदौ, असोजका महिना तालमा ढकमक्क कमल फुलेको टाढैबाट देखिन्थ्यो तर आजभोलि ताल क्षेत्रमा बेसरम झारमात्रै देखिने गरेको छ ।  तालमा बस्दै आएका रैथाने प्रजातिका जलपक्षी, गोही र विभिन्न प्रजातिका माछासमेत लोप हुने संघारमा पुगेका छन् ।  गोही, विभिन्न प्रजातिका माछा, सेतो प्रजातिको बकुल्ला र कालो हाँसको प्रमुख वासस्थानका रूपमा रहेको तारा तालमाथि अतिक्रमण हुन थालेपछि ती जलचर र पक्षीसमेत देखिन छाडेका छन् । तालको पूर्वतर्फको पूरै भाग पुरिएको छ । तालको डिल भत्किँदा खोलामा परिणत भएको छ ।

निकुञ्जले संरक्षणका लागि कार्य अगाडि नबढाउँदा तालको अस्तित्व नै लोप हुने संघारमा पुगेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।  दश बिगाहा क्षेत्रफलमा फैलिएको तालमा हाल एक बिगाहा क्षेत्रमा मात्रै पानी रहेको छ ।                                                                                                                                                         रासस

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     2:07:53 PM  |